
सुनाखरी न्युज/ काठमाडौं ।
भाद्र १३ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय व्यवसायिक पहल (National Business Initiative – NBI) को हालै काठमाडौमा सम्पन्न १९औं वार्षिक साधारण सभामा अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित हुनुभएको छ । सभाले अध्यक्ष जोशीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। संस्थाको उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्दवीर मालाकार, कोषाध्यक्षमा सरोज प्रसाद पाण्डे, सचिवद्वयमा सुरेश प्रधान तथा डा. बविन पोखरेल एवं सह–कोषाध्यक्षमा राजेश खड्का निर्वाचित हुनुभएको छ । त्यसै गरी कार्यसमितिका सदस्यहरुमा शिव प्रसाद घिमिरे, रमेश शर्मा, रविन्द्रमान सिंह प्रधान, लता प्याकुरेल, अरनिको राजभण्डारी, खेम लकाई, सरिता महर्जन, तथा संस्थागत तर्फबाट नेपाल हस्तकला महासंघ (राजमान बज्राचार्य) र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (महेश कुमार बस्नेत) निर्वाचित हुनुभएको हो । साधारण सभाले राजेश बाबु श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ, डा. राजेन्द्र कुमार घिसिङ, होमनाथ उपाध्याय तथा सनम शाक्यलाई कार्यसमिति सदस्यका रुपमा मनोनित गरेको छ।
संस्थाका नवनिर्वाचित अध्यक्ष कुश कुमार जोशीले सम्पूर्ण निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुलाई बधाई ज्ञापन गर्दै सभाले पारित गरेका दुरगामी महत्वका निर्णयहरु कार्यान्वयनमा कार्यसमिति पूर्णत प्रतिवद्ध रहने जानकारी गराउनुहुँदै कार्यसमितिमा व्यावसायीक क्षेत्रका अनुभवी व्यक्तित्वको प्रतिनिधित्व निर्वाचित भएकाले संस्थाले आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम हुनेमा आशा व्यक्त गर्नुभयो । महासचिव सुरेन्द्रवीर मालाकारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अवधारणा पत्र तयार, राष्ट्रिय मानव अधिकार आयोगसँग भएको छलफल, युएसएआईडी तथा युएनडिपी लगायतका दातृ निकायसँगको सहकार्यमा व्यवसाय तथा मानव अधिकार सम्बन्धमा भएका कार्यक्रम, आचारसंहिताको अनुगमन लगायत गत आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका मुख्य गतिविधिहरुबारे जानकारी गराउनुभएको थियो भने सभाले आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो। कार्यक्रममा पूर्वमन्त्री एवं राष्ट्रिय व्यवसायिक पहलका सल्लाहकार उमेश श्रेष्ठले कार्यसमितिलाई सफलताको शुभकामना दिनुहुँदै मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको र निजी क्षेत्रमा आत्मविश्वास सिर्जना हुन नसकिरहेको परिप्रेक्ष्यमा आर्थिक अवस्था सुधारका लागि ठूला परियोजनाहरु सञ्चालन गर्न आवश्यक रहेको र यसका लागि वातावरण निर्माणमा पहलले आवश्यक भूमिका खेल्नुपर्ने एवं संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो। त्यसैगरी संस्थापक अध्यक्ष पद्म ज्योतिले नेपाल विकासोन्मुख मुलुकको श्रेणीमा स्तरोन्नती हुन गइरहेको अवस्थामा व्यवसायीले यससँग सम्बन्धित दुवै अवसर र चुनौतीको सामना गर्नुपर्ने यथार्थलाई बोध गर्दै सम्पूर्ण निजी क्षेत्र रणनीतिक रुपमा कसरी अगाडि बढ्न सक्छ भन्ने विषयलाई पहलले महत्वका साथ उठान गर्नुपर्ने सुझाव दिनुभयो।
तत्कालिन द्वन्द्वरत अवस्थामा सामाजिक आर्थिक विकाशको माध्यमबाट मुलुकमा दिगो शान्ति स्थापना गर्ने मुख्य अभिप्रायले वरिष्ठ उद्यमी पद्म ज्योतिको संयोजकत्वमा स्थापना भएको राष्ट्रिय व्यवसायिक पहलले करीब दुई दशकको अवधिमा मुलुकको आर्थिक सामाजिक विकाशमा शसक्त भूमिका निर्वाह गर्न सफल भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व, दिगो विकाश, स्वच्छ व्यवसाय प्रवर्द्धन, आचार सहिता निर्माण जस्ता संस्थाका आधारभूत मान्यतालाई निरन्तता दिँदै पहलले निजी क्षेत्रको क्षमता विकाश, व्यवसायमा मानव अधिकार, विपद् व्यवस्थापन लगायत औद्योगिक व्यावसायिक वातावरण निर्माणमा सहयोग पुर्याउने समसामयिक विषयहरुमा नितिगत वहस पैरवीमा सक्रिय हुदै आईरहेको छ ।