२०८२ फाल्गुन २३ , शनिवार

रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ

arrestad 3

सुनाखरी न्युज/ काठमाडौं । 

 मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । भेरीगङ्गा नगरपालिका–२ सप्तरी समझीङ्गाका ३९ वर्षीय कृष्ण सुनारलाई पक्राउ गरिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार फरार प्रतिवादी सुनारले २०७२ साल असार २७ गते पीडित परिवर्तित नाम ६४ वीरेन्द्रनगर क ८ लाई विवाह गर्छु भनी विभिन्न किसिमको प्रलोभनमा पारी भारतको हिमाञ्चल प्रदेशको सिम्लामा लगी बेचबिखन गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दिएकी थिइन् ।

उहाँले भन्नुभयो, “सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएपश्चात प्रतिवादी सुनार फरार भएपछि उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई अन्तरराष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो ।”

उनलाई एनसिबी नेपाल र एनसिबी कुवेतको समन्वयमा कुवेतबाट पक्राउ गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ( इन्टरपोल महाशाखा )  काठमाडौँमार्फत बिहीबार सुर्खेत प्रहरी कार्यालयमा ल्याएर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बुढथापाले बताउनुभयो । (रासस)