
सुनाखरी न्युज/ काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । यहाँ आयोजित एक समारोहकाबीच बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुभएको हो ।मुख्यमन्त्रीको कार्यालय बागमती प्रदेशले गरेको अनुगमनमा यससँग सम्बन्धित ५१ वटा सूचक पूरा भएको पाएकाले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर भएको घोषणा गरिएको प्रदेशका सामाजिक विकासमन्त्री बादेले राससलाई बताउनुभयो । नौ हजार ५९० परिवार, ५३ हजार ९९३ जनसङ्ख्या रहेको यो नगरमा १५ हजार ११७ जना १८ वर्षमुनिका बालबालिका छन् । उनीहरूको हकहितका लागि बाल बचाउका १४, बाल संरक्षणका १०, बाल विकास र बाल सहभागिताका छ/छ र संस्थागत विकासका १५ वटा गरी ५१ वटा सूचक पूरा भएपछि प्रदेश सरकारले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।
चौध वटा वडा रहेको यस नगरमा ६६ वटा सामुदायिक विद्यालय, छ वटा संस्थागत विद्यालय छन् भने ८० वटा बालविकास केन्द्र, नौ वटा सामुदायिक सिकाइ केन्द्र, एक/एक वटा प्राविधिक शिक्षालय, सामुदायिक क्याम्पस र विशेष शिक्षा स्रोत कक्षा सञ्चालनमा रहेका मन्त्री बादेले उल्लेख गर्नुभयो । त्यसैगरी ३० वटा स्वास्थ्य संस्था क्रियाशिल हुनुका साथै नगरभित्र दुई सय बाल समूह, चौध वडा र एउटा नगर बाल सञ्जाल, ५२ वटा किशोरी समूह, चौध वडास्तरीय किशोरी समूह र एउटा नगरस्तरीय किशोरी वृत्तमार्फत तीन हजार ९६९ बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको मन्थली नगरप्रमुख लव श्रेष्ठले बाताउनुभयो । कार्यक्रममा मन्त्री बादेले सभ्य समाज निर्माणका लागि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न आवश्यक रहेको बताउनुभयो । अब प्रदेशका सबै पालिकाले छिटो भन्दा छिटो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मन्थली नगर जिल्लाको पहिलो, प्रदेशको एघारौँ र देशभर सत्ताइसौँ स्थानमा परेको जानकारी दिनुभयो ।
मन्त्री बादेले प्रदेश सरकारले विसं २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनुपर्ने नीति ल्याएकामा मन्थली नगर ११औँ बालमैत्री स्थानीय शासनयक्त नगर घोपाणा भएको धारणा राख्नुभयो । मन्थली नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । समारोहअघि वडा नं १, २ र ३ को मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसबाट, वडा नं ४, ५ र ६ को मन्थलीस्थित भैँसेश्वर चोकबाट र वडा नं ७ बाट १४ सम्म गाईखुरामा रहेको पक्की पुलबाट विभिन्न झाँकी र बजागाजासहित र्याली निकालेर मन्थलीस्थित तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो । बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेपछि आफू जस्ता बालबालिकाको हक अधिकार सुनिश्चित हुने बाल क्लब सञ्जालकी श्रेया कार्कीले बताउनुभयो । दुई वटा नगरपालिका रहेको यस जिल्लाको रामेछाप नगरले पनि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि अन्तिम तयारी पूरा गरेको रामेछाप नगरप्रमुख लवश्री न्यौपानेले बताउनुभयो ।
रासस