
सुनाखरी न्युज/ काठमाडौं ।
पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरी उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया आएका थिए ।अस्पतालमा दैनिक सात जना भन्दा बढी झाडापखलाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ११५ पुगेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार बिहानसम्म झाडापखला र हैजाका २२७ जना बिरामी निको भएर घर फर्किएका छन् । महाशाखाका अनुसार ३८ जना आईसीयूमा र ३ जना बिरामी एचडीसीयूमा उपचाररत छन् ।