
सुनाखरी न्युज/ काठमाडौं ।
आज भाद्र शुल्क चौथी अर्थात् गणेश चौथी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदै छन् । गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरहरुमा भक्तजनहरुको घुईंचो लागेको छ । हरितालिका तीजको भोली पल्ट आज गणेश चौथी हो । हिजो ब्रत बसेका महिलाहरुले आज विहानै गणेशको पूजा गरि दिनभर नाचगान र ब्रत बस्ने गर्छन् ।
यसदिन कसैको हानी नोक्सानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । त्यसैले यसदिन चौथी हान्ने गरिएको पनि पाइन्छ । यद्यपी उक्त विषयलाई हिजोआज भने त्यति महत्व दिन नहुने संस्कृतिविद्हरुको भनाई छ । भोली ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रुपमा समापन हुन्छ ।
आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड लागेको छ । गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका छन् ।
कुनै पनि धार्मिक कार्य सुरु गर्नु अघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।