२०८२ फाल्गुन २६ , मंगलबार

रुबी साह हत्या प्रकरणः मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

rubi

सुनाखरी न्युज/ रौतहट ।

रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई रौतहट प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैँले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको छ।

उनको टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ। हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीय रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो।

अनुसन्धानबाट खुलेको प्रारम्भिक विवरण अनुसार, पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा सार्ने प्रयास गरेका थिए। तर, इ–रिक्सा बिग्रिएपछि सुटकेस त्यही छाडेर भागेका थिए।

प्रहरीले ५०० रुपैयाँमा भाडामा गएका रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपी पासवानसम्म पुगेको हो।

 

मृतक रुबी साह हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्।उनी माधवनारायण–६, मधोपुरकी सुनिच्छा देवीकी छोरी हुन्। रुबीको विवाह भारत, बिहार, मुजफ्फरपुरका शिवकुमार साहसँग भएको थियो। उनको ४ वर्षको एक छोरा रहेका छन् ।