
सुनाखरी न्युज/ काठमाडौ ।
युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोर्दै आएको छ । युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ । थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्ड सँग नेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ ।
अजेन्टिना सँग ९ अर्ब १२ करोड ९७ लाख रुपैयाँ बराबरको आयात र २४ लाख रुपैयाँको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्ट्रेलिया सँग नेपालले ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दा बढिको बेहोर्नुपरेको छ । यस्तै, बंगलादेश सँग ५३ करोड ५८ लाख रुपैयाँ बराबरको आयात र सात करोड ५१ लाख रुपैयाँको निर्यात गर्दा ४६ करोड ७ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ ।
बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ। यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ बराबर व्यापार घाटा भएको छ ।