२०८२ फाल्गुन २३ , शनिवार

नेपाल आज बलियो पाकिस्तानसँग भिड्दै

nepal-2-1

सुनाखरी न्युज / काठमाडौं । 

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी – २० सिरिज अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक लिग खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बलियो प्रतिद्वन्द्वी पाकिस्तान शाहिन्सको सामना गर्दैछ । यो खेल नेपालका लागि सेमिफाइनल पुग्ने झिनो आशा जीवित राख्न जित्नैपर्ने दबाबसहितको महत्त्वपूर्ण परीक्षा हो ।

डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा खेल नेपाली समयअनुसार दिउँसो ३: १५ बजे सुरु हुनेछ । सुरुवाती तीन खेलमा लगातारको हारले कमजोर बनेको नेपालले पछिल्ला दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगितामा आफ्नो उपस्थिति जनाएको छ । पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएपछि नेपालको यात्रा कठिन देखिएको थियो ।

तर, चौथो खेलमा होबार्ट हुरिकेन्सलाई ६६ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले लय समात्यो । त्यसपछि बुधबार भएको पाँचौँ खेलमा मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको थियो । यो जितसँगै नेपालले ५ खेलबाट ४ अंक जोडेको छ र अंक तालिकाको सातौँ स्थानमा छ । अर्कोतर्फ, पाकिस्तान शाहिन्सले ५ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा आफ्नो स्थान लगभग सुरक्षित गरिसकेको छ ।