
सुनाखरी न्युज / काठमाडौं ।
नेकपा माओवादी केन्द्रले लिपुलेकबाट व्यापार खोल्ने भारत-चीन सहमतिबारे सरकारसँग जवाफ मागेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच नेपाली भूमि लिपुलेक भएर द्विपक्षीय व्यापार खोल्ने सहमति भएको विषयबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । उनले भने, ‘सम्माननीय सभामुखज्यू आज नेपाल आमालाई दुखी रहेको छ । हाम्रा दुई छिमेकी मित्र राष्ट्रहरू चीन र भारतले हाम्रो देश नेपाललाई जानकारी समेत नदिई लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेको भन्ने खबरले हाम्रो दलको गम्भीर ध्यान ध्यानाकर्षण भएको छ ।’
नेपालको संविधानमा उल्लेख भएको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुराबारे कुनै जानकारी समेत नदिई गरिएको भनिएको उक्त सहमतिप्रति आपत्ति प्रकट गर्दै उनले विगतमा पनि आफ्नो पार्टीले यो विषयमा नेपालको राष्ट्रिय सार्वभौमिकता तथा अखण्डताको विरुद्ध छ भनेर आवाज उठाएको बताए । आवश्यक प्रभावकारी कूटनीतिक पहल अघि बढाएर नेपालको सार्वभौमिकता एवं हितको पक्षमा दुवै छिमेकी मित्र राष्ट्रहरूसँग आवश्यक प्रभावकारी कूटनीतिक राजनीतिक पहल अघि बढाउन प्रमुख विपक्षी दलको तर्फबाट उनले सरकारसँग अपिल गरे । यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता तथा अखण्डताको रक्षा र नेपालको हितको पक्षमा एकजुट हुनुपर्नेमा उनको जोड थियो ।