२०८२ फाल्गुन २७ , बुधवार

लोकतान्त्रिक आन्दोलनका योद्धा कोइरालाको निधन

basusharan-koirala.jpg-2ff (1)

सुनाखरी न्युज/ काठमाडौं ।

लोकतान्त्रिक आन्दोलनका योद्धा एवं समाजसेवी बासु (बासुदेव शरण) कोइरालाको आज निधन भएको छ । केही समययता अस्वस्थ्य रहनु भएका ९३ वर्षीय कोइरालाको सर्लाहीको जुटपानी (नवलपुर) स्थित आफ्नै निवासमा निधन भएको उहाँका आफन्त वरिष्ठ पत्रकार हरिहर विरहीले जानकारी दिनुभयो । उहाँले आफ्नो शरीर बिपी कोइरालाको नाममा स्थापित धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसन्धान गर्ने विद्यार्थीहरूको सहयोगार्थ दान दिनुभएनुसार आजै उहाँको पार्थिव शरीर अस्पताले ग्रहण गरेको थियो । काभ्रेको खोपासीमा ९३ वर्षअघि जन्मिनु भएका उहाँ २०१२ सालदेखि नेपाली कांग्रेसको नीति, कार्यक्रममा समर्पित हुनुहुन्थो । उहाँ विसं २०१५ को निर्वाचन, सुवर्ण शम्शेरको नेतृत्वको २०१८ को तथा बिपी कोइरालाको आह्वानको २०३०– ३२ को सशस्त्र सशस्त्र सङ्घर्ष एवं २०४२ को सत्याग्रह सक्रिय सहभागी रहनुभयो ।

त्यस क्रममा कोइरालाले लामो समय यातनापूर्ण काराबास र ४ वर्ष निर्वासित जीवन झेल्नु भएको थियो । मुुलुकको शैक्षिक क्षेत्रको उन्नयनमा उल्लेख्य योगदान दिनुभएका उहाँले काठमाडौँ र सर्लाहीमा ‘नवजीवन विद्याश्रम’ नामक स्तरीय विद्यालय स्थापना र सञ्चालन गरी निःशुल्क पठनपाठनको व्यवस्था गर्ने कार्यमा विशिष्ट भूमिका निर्वाह गर्नुएको थियो । आफूलाई भेट्न आउने शुभच्छुलाई सधैँ भन्नुहुन्थ्यो, “परिणाम जे भए पनि इमान, नैतिकता र विवेक नछोड्नु, दीनदुखी र समाजको सेवा गर्नु ।” किसान आन्दोलनमा पनि सक्रिय उहॉ नेपाल किसान सङ्घको केन्द्रीय अध्यक्ष समेत हुनु भएको थियो । उहाँ कांग्रेसको सल्र्लाही जिल्ला सभापतिका साथै पटकपटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहनु भएको थियो । पछिल्लो समय उहाँ सर्लाहीको जुटपानी (नवलपुर) स्थित आफ्नै निवासस्थानमा बृद्धाश्रम स्थापना गरी बृद्धबृद्धाको सेवामा समर्पित हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
रासस