
सुनाखरी न्युज/ काठमाडौं ।
सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले जलवायुका विषयमा सांसदहरूको भूमिका प्रभावकारी बनाउन आवश्यक ज्ञान, अनुभव र असल अभ्यासको आदानप्रदानका माध्यमबाट यो हिन्दूकुश हिमालय संसदीय सम्मेलन सफल भएको बताउनुभयो । समापन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र वायु प्रदूषण नियन्त्रणका सांसदको भूमिका प्रभावकारी बनाउन तथा असल अभ्यासको आदानप्रदानका लागि सम्मेलन उपलब्धी मूलक भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “यो दुई दिने उच्चस्तरीय कार्यक्रममा हिन्दूकुश क्षेत्रका सांसदले जलवायु सङ्कटसँग जुझ्न कानुन निर्माणको भूमिका र जलवायु कूटनीतिको क्षमतामा नयाँ आयाम थपेका छन् ।”
उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेप्रति आभार व्यक्त गर्नुभयो । साथै विभिन्न सत्रका प्रस्तुतकर्ता, मन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, समितिका सभापति, सांसद, विज्ञ तथा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।सभापति थापाले कार्यक्रमको तयारीदेखि नै सहयोग प्रदान गर्ने परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकाय र प्राविधिक सहयोगका लागि इसिमोडप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो भेटघाट र छलफलले जलवायु कूटनीति, जैविक विविधता संरक्षण तथा वायु प्रदूषण नियन्त्रणमा हिन्दूकुश क्षेत्रका सांसदहरुबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै भविष्यका संस्करणमा थप छलफल र सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।
रासस