२०८२ फाल्गुन २३ , शनिवार

ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

electricity-bijuli-light_7QETXa60YA

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भइरहेको छ । यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्रउपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन् । अहिले गाउँगाउँमा कुटानी पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ । विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय रमेश विष्ट बताउनुहुन्छ । विगतमा कुटानी पिसानीका लागि घण्टौँ लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न हिँड्नुपर्ने अवस्थामा अहिले टोलटोलमा विद्युतीय मिल जडान भएको उहाँको भनाइ छ ।

“विद्युत् गाउँघरको मुहार फेरेको छ”, उहाँले भन्नुभयो, “विद्युत् विस्तारले गाउँघर उज्यालो भएको छ । टोलटोलमा विद्युतीय मिल जडान भएका छन् । विद्युत्ले गाउँले जीवनमा ऊर्जा थपेको छ ।”विद्युत् विस्तारपछि आफ्नो गाउँमा मात्र छवटा बढी विद्युतीय मिल रहेको उहाँले बताउनुभयो । विद्युत् विस्तारसँगै साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उहाँको भनाइ छ । गाउँघरमा राज्यको तहबाट विद्युत् विस्तार गरिएपछि फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको र दैनिकी सहज भएको टेम्केमैयुङ–१ का स्थानीय जगतबहादुर राईले बताउनुभयो । “विद्युत्ले दैनिक जीवनयापनमा फेरबदल आएको छ”, राईले भन्नुभयो, “विद्युत्को माध्यमबाट फर्निचर उद्योग चलाएका छौँ, उज्यालोमा बस्न पाएका छौँ, विद्युत् गाउँले जीवनमा सहजता र खुसी ल्याएको छ ।” पछिल्लो एक दशकको अवधिमा जिल्लाका धेरै दूरदराजका गाउँमा उज्यालो छाएको उहाँको भनाइ छ ।
रासस