
सुनाखरी न्युज/ रौतहट ।
रौतहटमा १८ वर्षअघि भएको भयानक हत्याकाण्डको फाइल फेरि जाग्ने भएको छ । गौरको राइस मिलमा माओवादीले गरेको सभामा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले हिंस्रक हमला गर्दा २७ जना मारिएका थिए । तर, राजनीतिक दाउपेचमा दब्दै आएको यो घटनाको छानबिन प्रतिवेदन बाहिर ल्याउन र आरोपीमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । योसँगै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान हुनेछ ।
सत्ता र शक्तिको प्रभावमा घटनाको अनुसन्धान नभएको भन्दै मृतक परिवारका तर्फबाट रूपसागर उपाध्याय, रुपैया खातुन, विक्रम पटेल र घाइते त्रिभुवन साह सर्वोच्च पुगेका थिए । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले तत्काल अनुसन्धान अघि बढाउन भनेको छ । अब पीडितले दिएको जाहेरी तथा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार उनीहरूमाथि अनुसन्धान अघि बढ्नेछ ।
७ चैत २०६३ मा गौरस्थित राइस मिलमा फोरम र माओवादीले एकै स्थानमा मञ्च बनाएर कार्यक्रम गर्दा झडप भएको थियो । घटनामा ५ महिलासहित २७ माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने ४२ जना घाइते भएका थिए । मृतकका परिवारले राज्यबाट १० लाखका दरले क्षतिपूर्ति पाएका छन् तर अनुसन्धान नभएको र दोषीमाथि कारबाही नभएको भन्दै परिवारजन सर्वोच्च पुगेका हुन् ।