२०८२ फाल्गुन २२ , शुक्रवार

छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

Life-Insurance-company_20220705085532_buBGLE0CEg

सुनाखरी न्युज/ काठमाडौं ।

मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम स्थगित भएको छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियङ्का यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताउनुभयो । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको जानकारी दिइएको छ । कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ जना, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ जना, आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो । हाल १० हजार छोरीको बिमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रमअन्तर्गत एक जनाको बिमा गर्दा रु ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ ।
रासस