
सुनाखरी न्युज/ गाजा सिटी .
इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ । प्रवक्ता महमुद बासलका अनुसार, गाजा सिटीको एक अस्पताल परिसरमा ड्रोन आक्रमण हुँदा ७ जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए ।
दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको एउटा टेन्टमा आक्रमण हुँदा थप ४ जनाको ज्यान गएको छ । त्यस्तै, सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर दक्षिण गाजामा ६ जनाको मृत्यु भएको प्रवक्ता बासलले बताएका छन् । मध्य गाजामा पनि एक व्यक्ति सहायता लिन गएका बेला मारिएका छन् ।
इजरायली सेनाले हाल गाजा सिटीको जैतुन क्षेत्रमा ठूलो सैन्य कारबाही गरिरहेको छ । एक सातादेखिको यो कारबाहीले ठूलो जनधनको क्षति गराएको बताइए पनि उद्धार टोलीहरू निरन्तर आक्रमण र साधनको अभावका कारण पीडितहरूसम्म पुग्न सकिरहेका छैनन् ।
संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले गाजामा गम्भीर खाद्य संकट र दुर्भिक्षको चेतावनी दिएका छन् । इजरायलले मानवीय सहयोगको आपूर्ति कडाइ गरेकाले समस्या झन् गहिरिँदै गएको हो । यसैबीच, इजरायली रक्षा मन्त्रालयले गाजा सिटीबाट नागरिकलाई सुरक्षित क्षेत्रतर्फ सार्न नयाँ तयारी थालिएको जनाएको छ । तर हमासले यसलाई गाजा सिटीमाथि कब्जा जमाउने योजना भन्दै त्यसको विरोध जनाएको छ ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि हमला गर्दै १ हजार २ सय १९ इजरायलीलाई मार्नुका साथै केहीलाई बन्धक बनाएर लगेपछि इजरायलद्वारा गरिएको जवाफी कारबाहीमा हालसम्म ६१ हजार ८ सय ९७ भन्दा बढी प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले पनि यस तथ्यांकलाई विश्वसनीय मानेको छ ।