
सुनाखरी न्युज/ काठमाडौं ।
बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियक्त गर्ने तयारी थालेको उनी निकट स्रोतले जनाएको छ । बानियाँले मुख्यमन्त्री नियुक्त भएसँगै एमालेका ६ र कांग्रेसका दुई जना सामेल गरी मन्त्रिपरिषद गठन गरेका थिए ।कांग्रेस र एमालेबिच भएको भागबन्डा अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्री पाउँछ । सो अनुसार एमालेको कोटा पूरा भइसकेको छ भने काँग्रेसले पाँच मन्त्री नियुक्त गर्न बाँकी छ ।मुख्यमन्त्री बानियाँले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । निवर्तमान मुख्यमन्त्री लामाले केन्द्रीय नेतृत्वहरूले ३ जनालाई मन्त्री बनाउने सहमति कार्यान्वयन हुने प्रतिबद्ध दिलाएपछि विश्वासको मत दिएको बताएका थिए । लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री बनाउने सहमति कांग्रेस सभापति देउवासहित बानियाँ र लामाबीच पूर्वसहमति भएको दाबी गरिएको थियो । उनीहरूलाई शुक्रबार नै हेटौंडामा बोलाइएको स्रोतले जनाएको छ । प्रदेश प्रमुख कार्यालय स्रोतले भने मन्त्रिपरिषद विस्तारबारे नाम आइनसकेको तर आजै नियक्ति र शपथ हुने सम्भावना भने रहेको जनाएको छ ।