
सुनाखरी न्युज/ काठमाडौं ।
वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य बृद्धि भएको छ । बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१-०८२ को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ४७ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०८०-०८१ मा ४६ अर्ब ७४ करोड रूपैयाँ नाफा कमाएका बैंकहरूले आर्थिक वर्ष २०८१-०८२ मा बैंकले ६८ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको हो।
केही बैंकहरूको यस्तो नाफामा हजारौं प्रतिशतले बढेको देखिएको छ। कुमारी बैंक र नेपाल बैंकको नाफा हजारौं प्रतिशतले, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको नाफा नौ सय प्रतिशतसम्म बढेको छ।
यी बैंकहरूले आर्थिक वर्ष २०८०-०८१ को विवरणमा अन्तिम लेखा परीक्षण पछिको परिष्कृत वित्तीय विवरण अनुसारको तथ्यांक देखाएकाले पनि नाफामा उछाल देखिएको हो। आर्थिक वर्ष २०८१-०८२ को भने अपरिष्कृत वित्तीय विवरण अनुसारको नाफा हो।
केही बैंकले राष्ट्र बैंकले तोके अनुसार कडाईमा साथ प्रावधान राखिएकोले आर्थिक वर्ष २०८१(०८२ को परिष्कृत वित्तीय विवरण सार्वजनिक हुँदा समेत नाफा रकममा धेरै परिवर्तन नहुने दाबी गरिरहेका छन्।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला राष्ट्र बैंकले दुई करोड रूपैयाँसम्मको कर्जाको भाका सार्न दिएको र बैंकहरूले गैर बैंकिङ सम्पत्ति बिक्री गर्न सकेको कारण नाफा बढ्न गएको बताउँछन्।
त्यस्तै, निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाएको र अर्थतन्त्र समेत अघिल्ला वर्षहरूमा भन्दा केही चलायमान भएकाले पनि असुलीमा सुधार भएको उनले जानकारी दिए।
बैंकहरूले अघिल्लो पटक ५५ अर्ब ९८ करोड प्रावधान राखेको यस पटक २८ अर्ब ५९ करोड मात्र राखेका छन्। प्रभु र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने यसअघि राखेको प्रावधान रकम समेत फिर्ता ल्याएका ९राइटब्याक गरेका० छन्। प्रभु बैंकले दुई अर्ब ५२ करोड रूपैयाँ र स्ट्याण्डर्ड चार्टर्डले तीन करोड रूपैयाँ राइट ब्याक गरेका हुन्।
बैंकहरूको खुद ब्याज आम्दानी भने एक प्रतिशतले घटेको छ। एक खर्ब ९२ अर्ब ६४ करोड रूपैयाँबाट घटेर यस्तो आम्दानी एक खर्ब ९० अर्ब ५३ करोडमा सीमित भएको छ।
बैंकहरूको वितरण योग्य मुनाफा २१ अर्ब ६३ करोड रूपैयाँ छ। बैंकहरूले औसतमा १३।२९ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ। एभरेष्ट बैंकको यस्तो लाभांश क्षमता सबैभन्दा धेरै छ। बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ।