
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको कृषि क्षेत्रको अध्ययन अनुसन्धान गर्न स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्वीकृत दरबन्दीको आधा सङ्ख्यामा सञ्चालन भइरहेको छ । नार्कमा स्वीकृत दरबन्दी एक हजार ८२३ रहेकामा हाल ९१९ जना मात्र कार्यरत रहेका नार्कका सूचना अधिकारी डा सुधा सापकोटाले राससलाई जानकारी दिनुभयो । नार्कमा अहिले पनि ९०४ दरबन्दी रिक्त छ । समयमा विज्ञापन नभएको, ढिला गरी भएको विज्ञापन पनि परिणाम आइसकेपछि मुद्दा परेर रोकिँदा जनशक्ति कम हुँदै गएको हो ।“रिक्त रहेका पदमा मुख्य वैज्ञानिक एस–५ को स्वीकृत दरबन्दी ३२ रहेकामा हाल आठ जनामात्र कार्यरत रही २४ पद रिक्त छन् । वरिष्ठ वैज्ञानिक एस–४ को स्वीकृत दरबन्दी सङ्ख्या ४५ रहेकामा ४५ कार्यरत छन् । सबैभन्दा बढी रिक्त वरिष्ठ वैज्ञानिक एस–३ को स्वीकृत दरबन्दीमा छ ।
जसमा स्वीकृत दरबन्दी १६४ रहेकामा आठ जनामात्र कार्यरत छन् । भने बाँकी पद रिक्त छन्”, उहाँले भन्नुभयो । वैज्ञानिक एस–२ को स्वीकृत दरबन्दी सङ्ख्या १०८ रहेकामा १०८ कार्यरत रहेका सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार वैज्ञानिक एस–१ को स्वीकृत दरबन्दी ६१ रहेकामा १५ जना कार्यरत छन्, प्राविधिक अधिकृततर्फ स्वीकृत दरबन्दी सङ्ख्या ३२४ रहेकामा १६८ कार्यरत छन् । त्यस्तै, प्राविधिक सहायकतर्फ स्वीकृत दरबन्दी सङ्ख्या ६९१ रहेकामा ३६७ कार्यरत रहँदा ३२४ पद रिक्त छन् । लेखातर्फ स्वीकृत दरबन्दी सङ्ख्या ८३ रहेकामा ४९ कार्यरत, प्रशासनतर्फ स्वीकृत दरबन्दी सङ्ख्या ३१२ रहेकामा १४८ कार्यरत रहेका नार्कका प्रवक्ता कालिकाप्रसाद उपाध्यायले जानकारी दिनुभयो । दरबन्दी अनुसार कर्मचारी नहुँदा कामममा समस्या पर्दै गएको उहाँले स्वीकार्नुभयो । भएका वैज्ञानिकले उमेर हदका कारण अवकाश पाउने, नयाँ विज्ञापन गर्दा अदालतमा गएर ढिलाइ हुने, कार्यरत युवा वैज्ञानिक पनि अवसरको खोजीमा विदेशिने क्रम बढेकाले काममा समस्या हुँदै गएको उहाँको भनाइ छ ।
रासस