२०८२ फाल्गुन २८ , बिहिवार

‘पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक छ’

Devendra-Dahal-Ecommerce

सुनाखरी न्युज/ काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने क्षति कम गर्न पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल इञ्जिनीयरिङ काउन्सिलले आज काठमाडौँमा आयोजना गरेको ‘इञ्जिनीयरिङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा उहाँले पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन/अनुसन्धान जरुरी रहेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माण पूर्व विस्तृत रूपमा योजनाबद्ध अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालको भू–धरातलिय विशिष्टता सुहाउँदो विकास ढाँचा आवश्यक रहेको बताउँदै मन्त्री दाहालले नेपालको भौगोलिक चुनौती खेप्नसक्ने प्रविधिबारे अध्ययन गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । “आवश्यक नीति र कानुन निर्माण र संशोधनका लागि सरकार तयार छ, ठूला राजमार्गको विकास र विस्तार, आधुनिक सुरुङमार्गको निर्माण, नेपालको विशिष्ट भूबनोट सुहाउँदा सुरक्षित सडकलगायत संरचना निर्माणमा नेपाली इञ्जिनीयरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ”, मन्त्री दाहालले भन्नुभयो ।

उहाँले नेपाली इञ्जिनीयरहरूको शिक्षा र क्षमतलाई अन्तरराष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पु¥याउन इञ्जिनीयरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उपयोगबाट आर्थिक समृद्धिलाई अघि बढाउन सकिने धारणा राख्दै उहाँले नेपालमा उत्पादित जनशक्तिबाट पूर्वाधार क्षेत्रलाई आधुनिक र दिगो बनाउन सकिने बताउनुभयो । उहाँले नेपाली इञ्जिनीयरहरूको वृत्तिविकास र योगदानलाई महत्त्वका साथ हेरिएको उल्लेख गर्नुभयो । काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इञ्जिनीयर र इञ्जिनीयरङ क्षेत्रले विकासका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदानबिना आधुनिक विकास सम्भव नहुने बताउनुभयो । कार्यक्रममा इञ्जिनीयरङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञसहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिनुभयो ।
रासस