२०८२ फाल्गुन २३ , शनिवार

९ वर्षको प्रेम सम्बन्धपछि वैवाहिक बन्धनमा बाँधिँदै

ronaldo-georgina-002

सुनाखरी न्युज/ काठमाडौं ।

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी दीर्घकालीन प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह पक्का गरेका छन्। प्रेम सम्बन्धमा रहेको ९ वर्षपछि दुईले इन्गेजमेन्ट गरेका हुन् । रोनाल्डो र जर्जिना नौ वर्षदेखि डेटिङमा छन्। दुवैले २०१७ को सुरुमा आफ्नो सम्बन्धको पुष्टि गरेका थिए र पहिलो पटक जुरिचमा फिफा फुटबल अवार्डमा सँगै देखा परेका थिए।

रोड्रिग्ज र ४० वर्षीय रोनाल्डोका दुई छोरीहरू छन् । उहाँले रोनाल्डोका अन्य तीन सन्तानको पनि हेरचाह गर्दै आउनुभएको छ । यो जोडीले सन् २०२२ मा जन्मेका जुम्ल्याहा सन्तानमध्ये एक छोरा गुमाएका थिए । रोनाल्डो र रोड्रिग्जको भेट सन् २०१६ मा भएको थियो । त्यतिखेर रोड्रिग्ज मड्रिडस्थित गुच्ची स्टोरमा काम गर्नुहुन्थ्यो । रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रोनाल्डो हाल साउदी अरबको अल – नासर क्लबबाट खेलिरहनुभएको छ ।

इंग्लिस मिडियाका अनुसार सन् २०२५ मा क्रिस्टियानो रोनाल्डोको कुल सम्पत्ति १.४५ बिलियन डलर छ । रोनाल्डोको आधार तलब करिब २० करोड डलर छ । उहाँले विज्ञापनबाट वार्षिक १५ करोड डलर कमाउनुहुन्छ । सन् २०२२ मा उहाँले साउदी टोलीसँग ६० करोड डलरको सम्झौता गर्नुभएको थियो, जसलाई यो वर्ष २०२७ सम्म थप गरिएको छ ।