२०८२ फाल्गुन २६ , मंगलबार

उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन

cdo office sankhuwasabha11691568862

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय पर्साले नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन समिति गठन गरेको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।समितिको सदस्यमा पर्सा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जनप्रतिनिधि जनदिशसाह तुरहा, मृतकका दाजु मकेशसाह तुरहा, मानवअधिकारकर्मी मनकुमारी लामा, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र नेपाल चिकित्सक सङ्घका प्रतिनिधि रहने गरी सात सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बैठकले मृतकको शव परीक्षणलगायतका अन्य कानुनी प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । वीरगञ्ज कारागारमा कर्तव्य ज्यान मुद्धा राहुल साह तुरहाको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । वीरगञ्ज कारागारका प्रमुख खिमराज भुसालका अनुसार कारागारमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका कैदी साहको मङ्गलबार विहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पु¥याइएको थियो । आफन्तहरुले भने पर्साका प्रजिअले विरामीलाई अन्य अस्पतालमा रेफर गर्नका लागि अनूमति नदिएको आरोप लगाएका छन् । कैदीबन्दी तुरहाको मृत्युपछि आक्रोशित आफन्तले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए । पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले पर्सा प्रहरीले भिड नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । साह विसं २०७९ देखि कर्तव्य ज्यानमुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।

रासस