
सुनाखरी न्युज/ काठमाडौं ।
यहाँ रहेको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती भएको छ । चार दशकअघि निर्माण भएको उक्त कारागार जीर्ण बनेको छ । जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपिएको कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताउनुभयो । “यो २५ जना क्षमताको बन्दीगृह हो । तर अहिले ६३ जनालाई राखिएको छ । बन्दीगृहमा ५३ कैदीबन्दी र १० जना थुनुवा छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुरक्षासहित उचित व्यवस्थापन गर्न समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो ।दशकौँ पुरानो कारागार जीर्ण बनेको बताउँदै भण्डारीले महिला कैदीबन्दी राख्ने ठाउँ नभएपछि महिला बन्दीलाई डडेल्धुरा पठाउने गरिएको जानकारी दिनुभयो ।
खाटमाथि खाट राखेर बन्दीको बसाइँ व्यवस्थापन गरिएको उहाँको भनाइ छ । प्रमुख भण्डारीले भन्नुभयो, “जस्तापाताले छाएको जीर्ण भवनमा वर्षात्को समयमा पानी चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या छ । यसका साथै खानेपानी आपूर्ति र सरुवा रोगको पनि जोखिम छ ।” विसं २०४० मा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दासमेत नयाँ भवन बन्न सकेको छैन । उहाँका अनुसार चालु आवदेखि नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले आगामी असोज–कात्तिकदेखि काम सुरु हुनेछ । सघन सहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत रु १० करोडको लागतमा भवन निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । साथै खानेपानी आयोजनाका लागि प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको प्रमुख भण्डारीले बताउनुभयो ।
रासस