२०८२ फाल्गुन २३ , शनिवार

अन्तर्राष्ट्रिय कवि सम्मेलनको भव्य एवं सभ्य आयोजन

kabi

सुनाखरी न्युज/ काठमाडौँ ।

`कहानीका´ हिन्दी पत्रिकाको तत्वावधानमा काठमाडौँमा अन्तर्राष्ट्रिय कवि सम्मेलनको आयोजन भव्यताका साथ सम्पन्न भयो। सम्मेलनमा नेपाल, भारत एवं दुबईका गरि १७ कविहरूले कविता वाचन गर्नुभयो भने लगभग ६० कविहरूको गरिमामय उपस्थिति थियो। यस प्रतिष्ठित कवि सम्मेलनमा योग्य साहित्यकार एवं कविहरूलाई उहाँहरूले साहित्यमा योगदान पुर्‍याएबापत काशी हिन्दी विद्यापीठ, वाराणसी, उत्तर प्रदेश एवं `कहानिका´ हिन्दी पत्रिका द्वारा `विद्यासागर मानद उपाधि २०२५´ एवं `पशुपतिनाथ काव्य महारथी सम्मान २०२५´ बाट सम्मानित गरिएको थियो।

कार्यक्रमको शुभारम्भ सरस्वती माताको प्रतिमामा माल्यार्पण गर्दै दीप प्रज्लनबाट भएको थियो। दुबईबाट आउनुभएकी ललिता मिश्रले गणेश बन्दनाबाट दर्शकहरूको ध्यान आकृष्ट गर्नुभएको थियो, त्यसरी नै भारतबाट आउनुभएकी शिला तिवारीले सरस्वती बन्दनाबाट सबैको मनलाई मोहित पार्नुभएको थियो। देवी गीत एवं शिव बन्दनाबाट उपस्थित सम्पूर्ण श्रोतागणलाई भक्तिरसमा डुबाउँदै श्याम कुँवर भारतीले वातावरणलाई भक्तिमय बनाउनुभएको थियो।

संगीता ठाकुरले स्वागत गीत प्रस्तुत गर्दै आगन्तुक सम्पूर्ण कवि एवं महानुभावहरूलाई अभिनन्दन गर्नुभएको थियो। तत्पश्चात कार्यक्रमका विशिष्ट अतिथि डिल्लीराम शर्मा संग्रौला (विभागीय प्रमुख, संस्कृत, हिन्दी तथा पत्रकारिता, पद्मकन्या बहुमुखी क्याम्पस)ले स्वागत भाषण प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्य एवं महत्त्वको चर्चा गर्नुभएको थियो। उहाँले नेपाल एवं भारतको सम्बन्ध सदियौंदेखि चलिआएको र दुई देशका नागरिक बीच आत्मीय सम्बन्ध रहेको कुरा गर्नुभयो। तस्पश्चात विनोद कुमार विश्वकर्माले आजको समयमा कवितामा भएको भाषा प्रयोगबारे महत्त्वपूर्ण कुरा राख्नुभयो।

अतिथिहरूको स्वागत माल्यार्पण र खादा लगाई गरिएको थियो। कवि सम्मेलनको मुख्य आकर्षण काव्य पाठ थियो जसमा १७ कविहरूले आफ्ना कविताबाट `गागरमा सागर´ भर्ने काम गर्नुभएको थियो।

सम्मेलनकी मुख्य अतिथि माननीय रेखा यादव (सांसद, प्रतिनिधि सभा, नेपाल)ले नेपाल एवं भारतको सम्बन्धको बारेमा चर्चा गर्दै यी दुई देशका नागरिकहरूको आत्मालाई कसैले पनि विभाजन गर्न नसक्ने कुरा व्यक्त गर्नुभएको थियो। उहाँले पनि आफ्ना कविताबाट दर्शकहरूको मनलाई आकर्षित गर्नुभएको थियो। उहाँले कार्यक्रमको प्रशंसा गर्दै सफल सम्मेलन भएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो। त्यसरी नै सम्मेलनका अध्यक्ष प्राडा अक्कल देव मिश्र (प्रिन्सिपल, त्रिभुवन विश्वविद्यालय)ले सम्मेलनको प्रशंसा गर्दै खुसी व्यक्त गर्नुभयो। आजको युगमा साहित्यको महत्वपूर्ण भूमिका छ र समाज निर्माणमा साहित्यको भूमिका अक्षुण्ण छ भन्ने कुरा व्यक्त गर्नुभयो।

कवि सम्मेलनमा नेपाली, थारु, मगही, भोजपुरी एवं हिन्दी भाषाका कविताहरु वाचित भएका थिए। नेपालबाट कविहरू हुनुहुन्थ्यो- प्रा. डा. संजीता वर्मा, डा. शैलेन्दु नेपाल, डा. अम्बिका अर्याल, डा. सृजना शर्मा, विनोद कुमार विश्वकर्मा, वीणा सिन्हा, डिल्लीराम शर्मा संग्रौला, नन्दलाल चौधरी एवं उपेन्द्र दास त्यसरी नै दुबईबाट ललिता मिश्र, सत्यन्द्रनाथ शाह, जय कृष्ण मिश्र हुनुहुन्थ्यो। त्यसैगरी भारतबाट श्याम कुमार भारती, डा. संजयकुमार, पण्डित प्रेमदास बैरागी, शिला तिवारी हुनुहुन्थ्यो।

कविहरूको कविता सुनेर उत्साहित हुँदै उपस्थित श्रोताहरूले पनि आफ्ना कविता वाचन गर्नुभएको थियो। अन्तमा कार्यक्रमका संयोजक श्यामकुमार भारतीले मुख्य अतिथि, अध्यक्ष एवं सम्पूर्ण कवि एवं उपस्थित महानुभावहरुलाई हृदयबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो।