
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) को पुस्तकालयलाई ‘सेन्टर फर मिडिया रिसर्च–नेपाल’ले १५ प्रकारका ३० थान पुस्तक उपलब्ध गराएको छ । रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा आज सेन्टर फर मिडिया रिसर्चका निर्देशक उज्ज्वल आचार्यले राससका कार्यकारी अध्यक्ष धमेन्द्र झालाई पुस्तक हस्तान्तरण गर्नुभयो । पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले मिडियासम्बन्धी विभिन्न विषयका पुस्तक रासस मात्रै नभइ आम सरोकारवालाका लागि निकै उपयोगी र सान्दर्भिक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकार र आमसञ्चारका विद्यार्थी तथा मिडियासम्बन्धी रुचि राख्नेका लागि अध्ययनको उपयुक्त थलो हुने बताउनुभयो । सेन्टर फर मिडिया रिसर्चका निर्देशक आचार्यले राससले स्थापित गरेको पुस्तकालय पत्रकार र पत्रकारिताका विद्यार्थी तथा मिडिया र पत्रकारितामा रुचि राख्ने अध्ययनकर्ताका लागि गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालका लागि रासस अत्यन्तै महत्वपूर्ण ठाउँ हो र यहाँ स्थापित पुस्तकालयको आफैमा महत्व छ ।
भोलिका दिनमा यो पुस्तकालय पत्रकार, पत्रकारिताका विद्यार्थी तथा मिडिया र पत्रकारितामा रुचि राख्ने अध्ययनकर्ताका लागि गन्तव्य बन्छ भन्ने हाम्रो अपेक्षा हो । पुस्तकालयले मिडिया अध्ययन र अनुसन्धानमा सघाउ पु¥याउने विश्वास छ ।” राससलाई हस्तान्तरण गरिएका पुस्तकमा मिडिया, पत्रकारितासम्बन्धी किताबमध्ये धेरैजसो पुस्तक हालसम्मका नेपालको मिडिया र पत्रकारिताबारे गरिएको अध्ययन अनुसन्धानबाट नेपालको मिडिया तथा पत्रकारिताको अवस्था समेटिएको छ । निर्देशक आचार्यले रासस सूचनाचक्रका हिसाबले नेपालको महत्वपूर्ण संस्था भएको र पछिल्लो चरणमा राससले आफूलाई समयानुकूल गराउँदै बदलिँदो सूचना प्रविधिमा डिजिटल मिडियाको अभ्यास तथा मिडियाको इतिहासलाई सङ्ग्रहित गरेर प्रसंशनिय कार्य गरेको उल्लेख गर्नुभयो ।
सेन्टर फर मिडिया रिसर्च सेन्टरले हालसम्म प्रकाशित पुस्तक राससलाई उपलब्ध गराएको हो । मिडिया अध्ययन, अनुसन्धान र तथ्याङ्कमा आधारित ती पुस्तक पत्रकार, सञ्चारकर्मी र आमसञ्चारका विद्यार्थीलाई उपयोगी हुने विश्वास लिइएको छ । पुस्तक विशेष गरी मिडिया अध्ययन, अनुसन्धान, नीतिगत विषय र मिडिया तथ्याङ्कसम्बन्धी उपयोगी छन् । राससलाई हस्तान्तरण गरिएका पुस्तकहरुमा ‘डिजिटल परिदृश्य’, ‘भ्रष्टाचार र मिडिया’, ‘नेपलिज मिस इन्फरमेसन ल्याण्डस्केप’, ‘मिडिया र सूचना साक्षरता’, ‘सङ्घीयतामा मिडिया नीति तथा कानुन’, ‘पड्कास्टिङ संक्षिप्त परिचय’, ‘महामारीमा मिडिया’, ‘प्रदेशमा मिडिया’, ‘मिडिया इन डिजास्टर’ छन् । यस्तै ‘सङ्कुचनमा प्रेस’, ‘प्रेस तथा नागरिक स्वतन्त्रता सूचकाङ्क’, ‘दबाबमा नागरिक समाज’, ‘सचेत बनौँ सूचना प्रविधिको सही प्रयोग’ र ‘नेपाली लेबर माइग्रेन्सट्स’ रहेका छन् ।सो अवसरमा निर्देशक आचार्यले रासस केन्द्रीय कार्यालयमामा विकास गरिएको मिडिया सङ्ग्रहालय, रासस समाचार बुलेटिन कक्ष र पुस्तकालयको अवलोकन गर्नुभएको थियो ।
त्यसक्रममा राससका कार्यकारी अध्यक्ष झाले रासस मिडिया सङ्ग्रहालय स्थापनाको उद्देश्य, महत्व र भावी योजनाबारे अवगत गराउनुभएको थियो । उहाँले रासस समाचार बुलेटिन कक्ष र पुस्तकालयको विकास विस्तारबारे भावी कार्यक्रकमका सम्बन्धमा पनि अवगत गराउनुभयो । रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएको दिनदेखि विज्ञ, सरोकारवाला अवलोकनका लागि आउने क्रम जारी छ । यस्तै रासस समाचार बुलेटिन कक्ष र पुस्तकालयप्रति पाठक, विज्ञ सरोकारवालाको चासो बढ्दै गएको छ । राससले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा २०८१ फागुन ७ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन कक्ष’ सर्वसाधरणका लागि खुला गरेको हो । रासस स्थापना भएको दिन २०१८ फागुन ७ गतेदेखि हालसम्मको समाचार सामग्री बुलेटिन कक्षमा राखिएको छ । हाल पुस्तकालयमा विभिन्न किसिमका सात सय हाराहारी पुस्तक छन् ।
रासस