२०८२ चैत्र ५ , बिहिवार

नेपालको खाद्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक

khadhya-prabidhi-tatha-gun-niyantran-bibhag-900px

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको खाद्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक प्राप्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता  (प्रत्यायन )  मा उच्च अंक प्राप्त गरेको हो ।विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड  (एनएबीएल )  बाट अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ÷आईईसी १७०२५ः२०१७ अनुसार ८ सय १४ परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

विभागका अनुसार अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ वटा खाद्य समूहका ८ सय १४ नेपाली खाद्यवस्तु भारत बाहेक देशमा समेत विनाअवरोध निर्यात गर्ने सकिने छ । विभागले यसअघि ३ सय ८६ परीक्षण सूचकांकमा मात्र प्रत्यायन प्राप्त गरेकोमा अब त्यो संख्या ८ सय १४ मा पुर्‍याउन सफल भएको हो । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले यो उपलब्धिसँगै नेपालकै सरकारी प्रयोगशालामध्ये सबैभन्दा धेरै परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयोगशालाका रूपमा राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला स्थापित भएकोे बताए ।

त्यस्तै भारत सरकार अन्तर्गत रहेको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण ( एफएसएसएआई )  ले पनि नेपालको यो विभागको प्रयोगशालाबाट जारी हुने परीक्षण प्रमाणपत्र ( विश्लेषण प्रमाणपत्र ) र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाणपत्रलाई औपचारिक मान्यता प्रदान गरेको छ । भारतले प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, मिठाई, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी तथा फलफूल गरी ८ प्रकारका खाद्य वस्तु विश्लेषण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरिसकेको विभागले जानकारी दिएको छ ।

एफएसएसएआई र एनएबीएलको संयुक्त एकीकृत प्रयोगशाला मूल्यांकनपछि विभागले ६ सय ८० परीक्षण सूचकांकमा एकीकृत प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको छ । यसबाट नेपाली खाद्य तथा कृषिजन्य वस्तुको भारत निर्यात थप सहज हुने विभागको विश्वास छ । विभागका अनुसार सन् २०१२ मा २७ रासायनिक परीक्षण सूचकांकबाट सुरु भएको प्रत्यायन प्रक्रिया विस्तार हुँदै २०२३ सम्ममा २ सय ८६ परीक्षण सूचकांकमा मान्यता प्राप्त गरिएको थियो । २०२५ मा भने संख्या बढेर ६ सय ७२ रासायनिक र १ सय ४२ सूक्ष्म जीवसम्बन्धी परीक्षण सूचकांक सहित कुल ८ सय १४ पुगेको छ । विभागले खाद्यमा प्रयोग गरिने थप पदार्थ, विषादी अवशेष, कृत्रिम गुलियो पदार्थ, खाद्य रङ, परिरक्षक, भिटामिन, धातु तथा विषालु धातु, अफ्लाटक्सिन लगायत १ सय २३ परीक्षण सूचकांकमा प्रत्यायन विस्तार गरेको जानकारी दिएको छ ।