२०८२ चैत्र ५ , बिहिवार

२४ घण्टामा झापाका अनारमनी, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ ।त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को कुञ्जीबारीमा समेत सञ्चालनमा छन् । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले भन्नुभयो, “साइरनले बाढीको खतरा टाढैबाट जानकारी गराउँछ । हामीले सचेतना र पूर्वतयारीमार्फत जोखिम न्यूनीकरणमा ध्यान दिइरहेका छौँ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने योजना पनि सक्रिय रूपमा कार्यान्वयनमा छ ।”

कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा रहेको कनकाई नदीको सतह उच्च रहेको र आसपासका क्षेत्र सतर्क अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नदीको बहाब निरन्तर बढिरहेकाले नगरपालिकाको विपद् व्यवस्थापन समिति सक्रिय छ । आवश्यक परेमा तत्काल उद्धार, राहत र स्थानान्तरण कार्य गरिनेछ ।”झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तहसँगको समन्वयमा उच्च जोखिममा रहेका स्थानको तत्काल अनुगमन, आवश्यकतानुसार उद्धार तथा राहतको तयारी गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरेर जनतालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको स्थानीयवासी हरि राजवंशीले बताउनुभयो ।

भारी वर्षासँगै एसियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रको कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलाको डाइभर्सनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेकाले एसियन हाइवे आयोजनाले समेत आफ्ना कर्मचारी र जेसिभी र स्काइभेटरलाई समेत तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले बताउनुभएको छ ।मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोलाको डाइभर्सनमा हुनसक्ने जोखिमलाई ध्यान दिएर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आयोजनासँग समेत आवश्यक परामर्श गरिएको, राहत र उद्धारको टिम तयारी अवस्थामा रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सडक डाइभर्सन क्षेत्रमा बाढी बसेको अवस्थामा एसियन हाइवे परियोजनासँग सहकार्य गरी उद्धार टोली तयार भएको र मर्मत तथा वैकल्पिक आवागमन सुनिश्चित गर्न इञ्जिनियरिङ टोली परिचालित गरिएको छ ।” विशेषज्ञहरूले बाढीको सम्भावित जोखिम क्षेत्रहरू कचनकवल, झापा, बारदशी, गौरीगञ्ज, कन्काईलगायतका तटीय र नदी छेउका बस्तीमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सतर्कता अपनाउन सुझाव दिएका छन् ।

रासस