२०८२ फाल्गुन २४ , आइतवार

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व सङ्कलन

rajashwo_rTife1zc5B

सुनाखरी न्युज/ काठमाडौं । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१र८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन भएको जानकारी दिए । उनका अनुसार आव २०८०र८१ मा गरिएको विभिन्न सवारी कारबाहीबाट रु चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको थियो ।

गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका १ हजार २ सय ३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको जनाउँदै प्रहरी उपरीक्षक शाहीले दुई हजार चार जना घाइते भएका उल्लेख बताए । सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादक पदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडकरमौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका उनले जानकारी दिए ।

ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा रहेका छन् । यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । उनका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागू गरी कडाइका साथ कार्यान्वयन गरिएको छ । लामो दुरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भएरनभएको टिसिए एप्स  ( ट्राफिक कम्युनिकेसन एप्लिकेसन)  को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उनले बताए ।