२०८२ फाल्गुन २८ , बिहिवार

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानिया नयाँ मुख्यमन्त्री बन्दै

Bahadur-Singh-lama-Indra-baniya

सुनाखरी न्युज/ हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा १४ साउनमा  इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो ।

 

कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले शनिवार  संयुक्त छलफल गरेका थिए । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापतिसहितको भेटपछि राजीनामा दिन लामा तयार भएको  जानकारी दिए ।

मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएको चित्रकारले बताए ।

 

लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै सपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा सपथ ग्रहण रोकिएको थियो । त्यसको भोलिपल्ट बिहीवार १ बजे सपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक रूपमा बिरामी भएर काठमाडौं हिँडेपछि सपथ हुन सकेको थिएन ।

 

लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् ।