२०८२ फाल्गुन २३ , शनिवार

हायुका परिवार भन्छन्- ऋण लागेर भागेका होइनौं, बाध्यताले हो

Raju-Hayu-

सुनाखरी न्युज/ काठमाडौं ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कबिहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नु परेको बताएका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान ३ घण्टा लाग्ने भएर बच्चाहरूका लागि गाउँ छाडेको बताएका हुन् ।उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो,केटाकेटीहरु धेरै बिरामी भए ।

केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई अढाइ घण्टा, स्कुल जान तीन घण्टा लाग्छ । हामी त्यस्तो ऋण लागेर भागेर आएका हैनौं ।’ उनले सञ्चार माध्यममा आएको जस्तो राती नभई बिहान घरबाट हिंडेको र गाइ नपालेको पनि बताए ।

कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवार आफन्तको जिम्मा लगाइएको र सपरिवार आफूखुसी हिडेको जानकारी दिए । घटनामा आवश्यक परे थप अनुसन्धान गर्ने एसपी ओलियाले बताएका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाइसकेको छ ।

पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । प्रहरीका अनुसार हायु परिवारका १६जना सदस्यदुई फरक स्थानमा फेला परेका थिए ।