२०८२ फाल्गुन २६ , मंगलबार

मृतक श्रमिकको परिवारलाई पाँच लाख सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भवन तथा बाटो निर्माणकर्मी सङ्घले मृतक श्रमिकको परिवारलाई रु पाँच लाख सहयोग गरेको छ । सङ्घले लामो समय निर्माण क्षेत्रमा काम गर्दै आउनुभएका तानसेनका स्व टोपबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहायता प्रदान गरेको हो ।निर्माणकर्मी टोपबहादुरको गत चैत २२ गते ५२ वर्षको उमेरमा क्यान्सर रोगका कारण मृत्यु भएको थियो । स्वाभाविक मृत्युबापतको राहत रकम सङ्घका अध्यक्ष सुरेश कर्माचार्य, सचिव हुमराज बस्याल र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाका प्रबन्धक सन्तोष पौड्यालले संयुक्त रुपमा उहाँकी श्रीमती शोभा विकलाई हस्तान्तरण गर्नुभयो । सङ्घका अध्यक्ष कर्माचार्यले दुःख र पीडामा रहेको परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताउनुभयो । सङ्घले निर्माणकर्मी, श्रमिक, मजदुरहरुका लागि औषधि उपचार, दुर्घटना उपचार, सुत्केरी अनुदान, बिमा, पारिवारिक काजक्रिया, श्रमिक छात्रवृत्ति, अस्पताल भर्ना तथा खाना, एकल महिला भत्ता, प्राथमिक दुर्घटना उपचार, वृद्धाभत्ता, स्वाभाविक मृत्युलगायतमा सहायता प्रदान गर्दै आएको छ । उहाँका अनुसार सङ्घले हालसम्म यी क्षेत्रमा रु ८५ लाख ७३ हजार आर्थिक सहयोग गरिसकेको छ ।
रासस