
सुनाखरी न्युज / काठमाडौं ।
आज साउनको दोस्रो सोमबार देशभरिका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको भए पनि शिवालयहरूमा भिड कम भएको छैन । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा रहिआएको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनका लागि उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् ।


यस्तै साउन महिनाको दोस्रो सोमबारको अवसरमा हेटौंडा–४ स्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको छ ।मन्दिर व्यवस्थापकका अनुसार बिहानैदेखि मन्दिरको मूल ढोका खोलिएको छ । पशुपतिनाथ, भक्तपुरको डोलेश्वर मन्दिर लगायतका शिवालयहरूमा छाता ओढेर नै दर्शनार्थीहरु पुगेका छन् ।