२०८२ फाल्गुन २९ , शुक्रवार

गुणस्तरीय निर्माण कार्यमा ध्यान दिन मुख्यमन्त्री कँडेलको निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुणस्तरीय निर्माण कार्यमा ध्यान दिन सचिव तथा कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित वार्षिक समीक्षा तथा तथा कार्ययोजना तर्जुमा गोष्ठी कार्यक्रममा मुख्यमन्त्री कँडेलले योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन् निर्माण कार्य जस्ता चुनौतीको पुनरावृत्ति नहुने वातावरण बनाउन सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको हो ।योजना केवल कागजमा सीमित नरहोस् भनेर समयमै र परिणाममुखी ढङ्गले कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले विगतमा के कस्ता कमजोरी गरेका थियौँ, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ ।

गत आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिन आफूलाई जिम्मेवार बनाउनुस् ।” जनताको आवश्यकता बुझेर योजना बनाए मात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो । सङ्घ, प्रदेश स्थानीय तह, आयोजना कार्यान्वयन एकाइबीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा पारदर्शीता, जवाफदेहिता र समन्वय गर्न सुझाउनुभयो । गोष्ठीमा प्रदेश मन्त्रीहरु, राज्यमन्त्रीहरु, सचिवहरु, विभागीय प्रमुखहरु, दश जिल्लाका कार्यालय प्रमुखको उपस्थिति रहेको थियो । सहभागीहरुले योजना कार्यान्वयनमा देखिएका व्यवहारिक समस्या तथा सम्भावित समाधानका उपायहरु प्रस्तुत गरेका थिए ।
रासस