
सुनाखरी न्युज/ काठमाडौं ।
टोखामा समातिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिक भनिएका व्यक्ति ३५ लाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ का नारायण पौडेल जिल्ला अदालत काठमाडौंबाट ३५ लाख धरौटीमा छुटेको खुलेको हो।अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पौडेल गत असार ३२ गते हाजिर भएका थिए।न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले उक्त घटनामा सुनुवाइ गरी पुर्पक्षको लागि ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त धरौटी बुझाएर पौडेल रिहा भइसकेका छन्। गत चैत ४ गते काठमाडौंको टोखाबाट प्रहरीले ट्रक र २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट नारायणी प्रदेश-७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो।
गाडीभित्र फल्सबटम बनाएर १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो। अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको थियो।राजश्व अनुसन्धान विभागले अनुसन्धान गरी यसमा पक्राउ परेका कुशाङ लामा भरियामात्रै भएको निष्कर्ष निकालेको थियो। पौडेल पक्राउ भने परेनन्। उनी फरार रहेकै अवस्थामा विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर हुँदा जिल्ला अदालतले कुशाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो। कुशाङलाई वैशाख ३ गते न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनामा पठाएको थियो तर मालिक भनिएका व्यक्ति भने धरौटीमा छुटेका हुन्।