२०८२ फाल्गुन २८ , बिहिवार

प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भदौ ३१ मा, यस्ता छन् एजेण्डा

Oli

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।

नेपालले संविधान नै संशोधन गरेर लिम्पियाधुरा लिपलेखको नक्सा उल्लेख गरेको छ, जसप्रति भारत ओलीसँग असन्तुष्ट छ । ओली यसअघि प्रधानमन्त्री छँदा उनको अग्रसरतामा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएको थियो ।

कात्तिकमा मोदी काठमाडौं आउने मोटामोटी समझदारी

यसअघि ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपल्ट भने आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी नेपाल आउन सक्ने आश्वासन दिएको सरकारी पक्षले बताएको छ ।

तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार मोदीको उक्त भ्रमण पनि छोटो नै हुनेछ ।