२०८२ फाल्गुन २६ , मंगलबार

पानी पर्दा किसानलाई राहत महसुस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

असार अन्तिमदेखि पानी पर्न थालेपछि यहाँका किसानले राहत महसुस गरेका छन् । धान रोपाईँ गर्ने बेला घर्किनै लाग्दा समेत पानी नपरेपछि भोक्राहा नरसिंह गाउँपालिका–४ का सुरेन्द्र उराँवले बोरिङ गरेको पानी तानेर धान रोप्नुभएको थियो । पानी नपरेपछि रोपिसकेका धानको रोपो समेत सुकेर चिरा परेको थियो । तीन दिनदेखिको वर्षाका कारण थोरै भए पनि राहत महसुस भएको उराँवले बताउनुभयो । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धानको ब्याड र रोपोसमेत सुक्न थालेको बेला परेको पानीले धानखेती गर्ने किसानलाई राहत मिलेको स्थानीय विनोद मेहताले बताउनुभयो । गत सोमबारदेखि बुधबारसम्म लगातार बर्षा भएपछि धान रोपाइँ गर्न सहज भएको उहाँको भनाइ छ । आकाशे पानीको भरमा खेती गर्दै आएका भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज इनरुवालगायतका क्षेत्रका कृषकले रोपेको धानको रोपो फेरी हरियो फर्किन थालेको स्थानीय सञ्जय मेहताले बताउनुभयो । आकाशे पानीको भरमा रहेका किसानलाई यही अवस्था रहिरहेमा धानबाली गुम्ने खतरा थियो ।जिल्लामा हाल ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।
रासस