
सुनाखरी न्युज/ काठमाडौं ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ। समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ। सम्झौताअनुसार आयोजनाको कुल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ। दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ। मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।
कार्यालका प्रमुख चक्रवर्ति कण्ठले सआर ३० गते नै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताए। ‘असार ३० गते नै निर्माण कम्पनीहरुलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जना)बारे जानकारी गराइसकेका छौं। मंगलबारदेखि उहाँहरु दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ। अब काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ,’ उनले भने।
यसरी हर्जना तिरेर बढीमा २ सय दिनसम्म अर्थात आयोजनको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेको पनि उनले बताए। सो अवधिमाा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ। तर, निर्माण कम्पनीले १ महिनामा काम सक्ने प्रतिवद्धता जनाएको छ। चार हजार कुर्सि फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ।