
सुनाखरी न्युज/ काठमाडौं ।
वाणिज्य बैंकले साउनका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले बुधबार प्रकाशन गरेको ब्याजदर सूचीअनुसार साउनका लागि २० वाणिज्य बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने १५ वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । तर चार वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छनैन् । एउटा बैंकले भने मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।
नयाँ ब्याजदरअनुसार साउनका लागि वाणिज्य बैंकहरूमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर अधिकतम ५.६९८ र न्यूनतम ३.६०४ प्रतिशत कायम भएको छ । असारमा यस्तो ब्याजदर अधिकतम औसत ५.९४ र न्यूनतम ३.८९१ प्रतिशत छ ।
वाणिज्य बैंकहरूमा साधारण निक्षेपको औसत ब्याजदर अधिकतम ३.९०५ र न्यूनतम २.७७१ प्रतिशत कायम भएको छ । यही असारमा यस्तो ब्याजदर अधिकतम ४.३५३ र न्यूनतम ३.०११ प्रतिशत छ । यसरी निक्षेपको ब्याजदर घटेसँगै बैंक तथा वित्तीय संस्थाको आधार दर पनि घट्ने भएकाले ऋणको ब्याजदर पनि स्वतः घटेको छ ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै मुद्दती निक्षेपको न्यूनतम दर साधारण बचतको अधिकतम ब्याजदरभन्दा कम छ । यस्तो अवस्थामा निक्षेपकर्ताले मुद्दतीभन्दा साधारण निक्षेपमा धेरै पैसा राख्न चाहन्छन् । बैंकमा पर्याप्त तरलता कायम रहेको अवस्थामा साउनका लागि २० वटै वाणिज्य बैंकले एकैपटक साधारण निक्षेपको ब्याजदर किन घटाए रु यसको मुख्य कारण राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको तल्लो सीमा घटाउनु हो ।