
सुनाखरी न्युज/ काठमाडौं ।
चितवनको भरतपुर अस्पताल परिसरमा मङ्गलबार साँझ एक दर्दनाक घटना भएको छ। अस्पतालकै कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जना मगरको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका अस्पताल परिसरभित्र रहेको सानो खेलमैदानमा खेल्दै गर्दा नजिकैको सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्। तत्काल उद्धार गरी उपचारका लागि अस्पतालको आपतकालीन कक्ष हुँदै आइसियूमा लगिए पनि साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
भरतपुर अस्पताल चितवन मात्रै होइन, आसपासका १३ जिल्लाका बिरामीका लागि प्रमुख रेफरल केन्द्रको रूपमा चिनिन्छ। दिनहुँ दुई–तीन हजार बिरामीको भीड लाग्ने यो अस्पतालमा व्यवस्थापन सम्बन्धी लापरवाही पटक–पटक उजागर हुँदै आएको छ। घटनास्थल बी ब्लक अगाडि रहेको बालबालिका खेल्ने पार्क हो, जुन स्थान नजिकै अस्पतालको शौचालयको सेफ्टी ट्याङ्की छ। अस्पताल प्रशासनका अनुसार सो ट्याङ्की नियमित रूपमा फोहोर निकाल्न प्रयोग हुने पाइप राख्ने सानो प्वाल खुलै राखिने गरिन्छ। यिनै प्वालबाट बालिका भित्र खसेको अनुमान गरिएको छ।
अस्पतालका प्रवक्ता डा . रामप्रसाद सापकोटाका अनुसार, बालिका निकै दुब्लो–पातलो भएकाले सम्भवतः खुल्लै राखिएको पाइप हाल्ने प्वालबाट भित्र छिर्न खोज्दा दुर्घटना भएको हो। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको बताइएको छ। सुरक्षाका उपाय कति प्रभावकारी छन् भन्ने प्रश्न उठेका छन्, र यसले अस्पताल प्रशासनको जवाफदेहितामा पनि गम्भीर प्रश्न खडा गरेको छ।