
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी ज्यान गएको छ। विश्वविद्यालयका अधिकारीहरूका अनुसार दुर्घटनामा परी दुई जना अन्य विद्यार्थी गम्भीर घाइते भएका छन्। जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको समाचारमा उल्लेख छ ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको लुइसियाना प्रहरीले जनाएको छ । कारमा सवार अन्य २ जना भने घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन । प्रहरीका अनुसार २० वर्षका रोजिनको नेपालको ठेगाना दाङ हो भने २२ वर्षीय राजनको ठेगाना खुलिसकेको छैन ।लु इजियाना स्टेट पुलिस टुप एफका अनुसार, रजन यादवले चलाएको २०१० मोडेलको होंडा एकोर्ड कार भारी वर्षाका बीचमा पूर्वतर्फ गइरहेको थियो। तर हाल अनुसन्धानको क्रममा रहेको कारणले गाडी सडकको दाहिने किनारतर्फ गइ रुखमा ठोक्कियो र त्यसपछि आगलागी भयो।
दुर्घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान जारी रहेको र रुटिन रगत परीक्षणका लागि नमुना संकलन गरिएको प्रहरी को भनाइ उधृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएको छ। विश्वविद्यालयका अध्यक्ष डा. जिम हेण्डरसनले जुलाई १४ मा एक वक्तव्य जारी गर्दै यस्तो दुःखद घटनाले सम्पूर्ण विश्वविद्यालय परिवार शोकाकुल भएको जनाएका छन्। उनका अनुसार घाइते विद्यार्थीहरू हाल अस्पतालमा उपचाररत छन्।