२०८२ फाल्गुन ३० , शनिवार

मुख्यमन्त्री कार्की र समिजुबीच भेटघाट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि सङ्गठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत परियोजना सञ्चालन गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले मध्यपहाडी जिल्लामा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलको उत्पादन, बजारीकरण र व्यवस्थापनका काममा सहयोग गर्न सिमिजसँग आग्रह गर्नुभयो ।मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि, जलवायु र विपद् जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिँदै जलवायु परिवर्तन तथा यसले पारेका असरका सन्दर्भमा चिन्तित रहेको चर्चा गर्नुभयो । कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेको छ । त्यसैले यहाँ जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिने उहाँको भनाइ थियो ।

“प्रदेश सरकार यी विषयमा कसरी अगाडि बढ्ने भत्रे गहन छलफल गर्नुपर्ने अवस्थामा छौँ”, मुख्यमन्त्री कार्कीले भन्नुुभयो, “यी र यस्ता प्रभावका बारेमा सबै सरोकारवालासँग छलफल गर्न चाहन्छौँ ।” आगामी आर्थिक वर्ष विश्व सिमसार दिवसका अवसरमा जलवायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्रतिनिधि सिमिजुले आफूहरू प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको उल्लेख गर्दै थप काम गर्न यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिनुभयो । प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य तथा समन्वयका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो । संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि सङ्गठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरणलगायत विषयमा काम गरिरहेको छ ।

रासस