
सुनाखरी न्युज/ काठमाडौं ।
अन्तरराष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस नेपाल)ले अगामी असोजमा ‘चौथो अन्तरराष्ट्रिय जलरङ महोत्सव, २०८२’ आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष एनवी गुरुङले आगामी असोजको २१ देखि २५ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा (काठमाडौँ, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगरपालिका) महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले यसपटक एसियन संस्करणका रुपमा महोत्सव आयोजना गरिने बताउनुभयो । महोत्सवमा विभिन्न १६ देशका १०० भन्दा बढी कलाकारका कलाकृतिहरु प्रदर्शन गरिने उहाँको भनाइ छ । उहाँका अनुसार महोत्सवमा नेपालसहित भारत, चीन, बङ्गलादेश, सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया, इण्डोनेशिया, फिलिपिन्स, मङ्गोलिया, जापान, पाकिस्तान, इरान, म्यानमार थाइल्याण्ड र श्रीलङ्काका कलाकारहरु सहभागी हुनेछन् ।
सन् २०१६ मा स्थापना भएको अन्तरराष्ट्रिय जलरङ समाज नेपाल १२० भन्दा बढी देशमा फैलिएको अन्तरराष्ट्रिय जलरङ समाजको शाखा हो । अध्यक्ष गुरुङले भन्नुभयो, “स्थापनादेखि नै समाजले नेपाली कला र नेपाली पर्यटनको विकासका लागि कार्यक्रम गर्दै आएको छ, यसअघि समाजले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका कला प्रदर्शनी, कार्यशाला र स्थलगत चित्रण कार्यशाला सम्पन्न गरिसकिएको छ ।” समाजले सन् २०१६ प्रथम अन्तरराष्ट्रिय जलरङ महत्सोव काठमाडौँ र घान्द्रकमा आयोजना गरेको थियो । यस्तै २०१८ दोस्रो अन्तरराष्ट्रिय जलरङ महत्सोव काठमाडौँ र लुम्बिनीमा आयोजना भएको थियो । उक्त कार्यक्रममा ३९ देशका २७५ कलाकारको सहभागीता थियो । सन् २०२२ मा पोखरा अन्तरराष्ट्रिय जलरङ महत्सोव आयोजना भएको थियो । सन् २०२३ मा तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव काठमाडौँमा आयोजना भएको थियो ।
रासस