
सुनाखरी न्युज/ काठमाडौं ।
वैश्विक समझदारी र सांस्कृतिक कूटनीतिलाई मजबुत बनाउन एक ऐतिहासिक कदमस्वरूप एकाडेमिया दे ला डिप्लोमासिया र नेपालको द डिप्लोम्याट नेपाल बीच जुलाई ८ मा स्पेनको राजधानी म्याड्रिडमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर कार्यक्रम स्पेनका राजकुमार फेलिप छैठौंको मानार्थ संरक्षणमा सन् १९०५ मा स्थापना भएको प्रतिष्ठित संस्था इन्स्टिटुटो डे इन्हेनिइरोस डे इस्पानाको ऐतिहासिक भवनमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब ५० विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल, एशिया–प्रशान्त क्षेत्रका राजदूतहरूको डीन तथा स्पेनका लागि भारतका राजदूत डा। दिनेश पट्नायकलगायत अन्य विशिष्ट कूटनीतिज्ञ, सरकारी उच्च अधिकारीहरू, एकाडेमीका बोर्ड तथा कार्यकारी सदस्यहरू र कूटनीतिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए । सम्झौतापत्रमा एकाडेमिया दे ला डिप्लोमासियाका कार्यकारी अध्यक्ष सान्तियागो भेलो दे अन्तेलो र द डिप्लोम्याट नेपालको तर्फबाट एम्बासडर्स क्लबकी अध्यक्ष तथा स्पेन र ओमानका लागि पूर्व नेपाली राजदूत शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेकी हुन् ।
एम्बासडर्स क्लबको सहकार्यमा डिप्लोम्याट नेपाल प्रकाशित हुदै आइरहेको छ । हस्ताक्षर कार्यक्रममा डा। ढकालले कूटनीति अन्ततः मनहरु जोड्ने र सिमापार गरेर समझदारी निर्माण गर्ने विषय रहेको बताइन् । ‘यस साझेदारीमार्फत्, हामी साना आवाजहरूलाई बलियो बनाउने र साना मुलुकहरूले पनि कसरी शान्ति, संवाद र विश्वासको प्रेरणा दिन सक्छन् भन्ने देखाउने लक्ष्य राख्छौं, उनले भनिन् । एकाडेमिया दे ला डिप्लोमासियाका कार्यकारी अध्यक्ष दे अन्तेलो विभाजित विश्वमा साझा सांस्कृतिक कूटनीतिको महत्व उल्लेख गरे । ‘यो सहकार्य केवल एउटा सम्झौता मात्र होइन । यो एक प्रतिबद्धता हो । हामीले स“गै काम गरेर संवाद, ज्ञान र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्नेछौं,’ उनले भने ।
सम्झौता अनुसार दुई संस्थाहरुले कूटनीति र अन्तर्राष्ट्रिय मामिलामा संयुक्त सम्मेलन, प्रकाशन र अनुसन्धान, स्पेन र नेपालबीचको शैक्षिक तथा सांस्कृतिक आदानप्रदान, युवा कूटनीतिज्ञ र शोधकर्ताहरूका लागि प्रशिक्षण कार्यक्रमहरू तथा नैतिक, सांस्कृतिक र आर्थिक कूटनीतिको प्रवद्र्धन मार्फत शान्ति र जनस्तरको सम्बन्ध सुदृढ बनाउने कार्यमा सहकार्य गर्नेछ । वरिष्ठ स्पेनिस राजदूतहरू र पूर्णाधिकार मन्त्रीहरूद्वारा स्थापना गरिएको एकाडेमिया दे ला डिप्लोमासियाका डेल रिइनो डे इस्पानाले स्पेनको कूटनीतिक गरिमा र इतिहासलाई संरक्षण गर्ने कार्य गर्दै आएको छ । संस्थाले डिप्लोमासिया सिग्लो २१ जस्ता प्रकाशन, शैक्षिक कार्यक्रमहरू र सांस्कृतिक पहलमार्फत संसारलाई जोड्ने प्रयास गर्दै आएको छ । अर्कोतर्फ एम्बासडर्स क्लबको सहकार्यमा रहेको द डिप्लोम्याट नेपाल कुटनीतिक क्षेत्रमा एउटा जीवन्त मन्च हो । यसले नेपालको कथा विश्वसामु प्रस्तुत गर्छ । यस्तै, डा। ढकालले स्पेन आफ्नो दोस्रो घर जस्तै रहेको बताइन् । उनले विश्वभर नै सांस्कृतिक कूटनीति शक्तिशाली सफ्ट पावर उपकरणको रूपमा उदाउदै गर्दा उक्त साझेदारीले शान्ति, संवाद र वैश्विक नागरिकताको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताइन् । उनले आजको कुटनीति सरकारहरु बीचमा मात्र नभएर जनता, संस्कृति र विचाहरु बीच पनि हुने उल्लेख गरिन् ।