
सुनाखरी न्युज/ काठमाडौं ।
वर्षादको समयमा डेङ्गुको संक्रमण अत्यधिक बढ्ने भएकोले यसतर्फ सचेत हुन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् ।
उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ । उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम छ ।
उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको बताए । यस वर्ष अत्यधिक रुपमा डेङ्गु संक्रमण बढ्ने अनुमान गरी आवयक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए ।