
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकार संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभएको छ । बैठकमा समय माग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले भन्नुभयो, “हामी सांसदहरूले सदनमा शून्य, विशेष समयमा जनताका सवाल उठाउने गछौँ, तर सरकारले संसद्मा उठेका विषयवस्तुको जवाफ दिएको छैन, मैले हुलाकी सडकको दूराअवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएको थिएँ, तर सरकारले गम्भीरतापूर्वक लिएको छैन ।” नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले गुल्मीको रुरुबाट सदरमुकाम तम्घास जाने सडक नीतिगत निर्णय अभावका कारण निर्माण हुन नसकेको बताउनुभयो ।
“उक्त सडक जोखिमपूर्ण छ । वर्षात्को समयमा पहाड खस्ने अवस्था छ, गुल्मीका विभिन्न ठाउँमा पुल निर्माण नहुँदा बाढीपहिराको समस्या बढिरहेको छ, यो बारेमा सरकारको ध्यानाकर्षण गराउछु”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले भन्नुभयो, “सिरहा जिल्लाका युवा अजय महरा हिजो बिहान मृत फेला परेका छन्, उनको हत्यारालाई पत्ता लगाउने काम सरकारको हो, अविलम्ब अनुसन्धान गरी हत्यारालाई कारबाहीको दायरामा ल्याउन म सरकारसमक्ष माग गर्दछु ।” आम जनता पार्टीका सांसद प्रभु शाहले गौशलास्थित पशुपति क्षेत्रमा हुने गतिविधि पारदर्शी हुनुपर्ने माग गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले पूर्व–पश्चिम राजमार्गपस्थित पथलैयाबाट निजगढ जाने बाटोमा पर्ने दूदरा खोलामा करिब छ वर्षदेखि अलपत्र परेको पुल आजसम्म पनि बन्न नसक्दा जनताले सास्ती भोग्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रासस