२०८२ फाल्गुन २९ , शुक्रवार

आज ७४ औँ मदन भण्डारी जयन्ती

madan-bhandari-jiwraj-aasrit-hita

सुनाखरी न्युज/  काठमाडौं ।

आज तत्कालीन नेकपा ( एमाले ) का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । एमाले र मदन भण्डारी फाउण्डेशनले आज विविध कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाउन थालेको हो । एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ । कमिटीको आयोजनामा आज ७ः३० बजेदेखि ८ः३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथरङ्गशालादेखि तीनकुनेसम्म पदयात्रा गरिएको कमिटीका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । पदयात्रामा पार्टी महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित सहभागी हुनुहुन्थ्यो ।

यस्तै आज दिवस फाउण्डेशनका आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तक्र्रिया कार्यक्रम राखेको छ । अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुनेछ । एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ( जबज ) लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनवाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो ।

मदन भण्डारी २०४६ सालमा भएको नेकपा ( माले ) को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा ( माले )  र नेकपा (माक्र्सवादी )  बीच एकता भई नेकपा ( एमाले )  पनि महासचिव बन्नुभएको थियो । यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको हो । मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिनुभएको भण्डारी २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना हुँदा निधन भएको थियो । (रासस)