
सुनाखरी न्युज/ काठमाडौं ।
प्रेस चौतारी नेपालका पदाधिकारीले राष्ट्रिय समाचार समिति (रासस)ले १८औँ गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् । आज चौतारीका अध्यक्ष गणेश पाण्डे नेतृत्वको प्रतिनिधिले भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयमा पुगि ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गरेको हो । “नेपालको हिमाली र पहाडी भू–भागको जीवन्त तस्बिर हेर्ने मौका पाएँ”, चौतारी अध्यक्ष पाण्डेले भन्नुभयो, “प्रदर्शनीमा नेपालको पर्यटकीय क्षेत्र, सम्पदा र संस्कृति झल्कने तस्बीरलाई फोटो पुस्तकको रुपमा प्रकाशन गर्न सुझाब दिन चाहन्छु ।” उहाँले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने सबैभन्दा महत्वपूर्ण सम्पत्ति हिमाल भएको उल्लेख गर्दै यसको व्यापक रुपमा प्रचारप्रसार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । तस्बिर प्रदर्शनीले आन्तरिक मात्र हैन बाह्य पर्यटन विकासको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो । त्यस अवसरमा चौतारीका उपाध्यक्षद्वय चेतन अधिकारी र कृपा भण्डारी, महासचिव हिराराम लामा र सचिव नरेश भण्डारीलगायतको उपस्थिति थियो । यही जेठ ११ गतेदेखि सुरु भएको तस्बिर प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्वीर समावेश छन् ।
रासस