२०८२ फाल्गुन २७ , बुधवार

‘समन्वय’विना आरोपित समात्न काठमाडौँमै आइपुग्छन् भारतीय प्रहरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँको ठमेलबाट चिनियाँ नागरिक यु हुआन हुआन अपहरणमा परे । २०८१ माघ १ मा भारतीय नागरिकहरूले उनलाई अपहरण गरेका हुन् । उनलाई अपहरण गर्ने भारतीयहरू मकवानपुरको भीमफेदीबाट पक्राउ परे ।पक्राउ पर्नेहरूमा महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थ्रोट, ३० वर्षीय अमोल खारमत, ४० वर्षीय आफा सरुनेश शाइक्स र ३० वर्षीय अमोल सिर्षत थिए । उनीहरूमध्ये एक जना गाडीका चालक हुन् । सो समूहमा भारतीय प्रहरी पनि थिए । यु हुआन हुआन सहितका चिनियाँ नागरिकले अनलाइन स्क्याम मार्फत करिब ४ करोड ठगेको कसुरमा चिनियाँ खोज्दै भारतीय प्रहरीहरू ठमेल आइपुगेका थिए, तर नेपाल प्रहरीसँग समन्वय नगर्दा उनीहरू पक्राउमात्रै परेनन्, अपरहणको मुद्दा झेल्न बाध्य भए । उनीहरू अहिले काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।२०८२ असार पहिलो सातामा चोरीमा संलग्न आरोपित खोज्दै आएको भारतीय प्रहरीको टोली दैलेख पुग्यो । भारतमा घरेलु कामदारको रूपमा बसेकाहरूले सामान चोरेर भागेको घटनामा संलग्न नेपालीहरूलाई खोज्न उनीहरू दैलेखको आठबिसकोट नगरपालिका–७ राकम पुगेका हुन् ।

त्यहाँ चोरीमा संलग्न आरोपित नभेटिएपछि उनीहरू काठमाडौँ आए ।नेपाल प्रहरीले जेठ ३० मा काठमाडौँको नागार्जुन नगरपालिकाबाट उनीहरूलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा हैदरावाद प्रहरीका डीएसपी जसवन्तसहितका अधिकारी थिए । डीएसपी सहितको टोलीलाई पक्राउ गरेर भारतीय राजदूतासको जिम्मा लगाइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।भारतमा चोरी गरेर नेपाल आएको आशंकामा नागार्जुन नगरपालिका क्षेत्रबाट चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘चोरीमा संलग्न प्रमाण नभेटिएपछि उनीहरूलाई हामीले निगरानीमा राखेका छौँ ।’भारतीय सुरक्षा अधिकारीहरू पछिल्लो समय कूटनीतिक माध्यमबाट भन्दा पनि आफ्नै ढंगले नेपाल प्रवेश गरेर आरोपित पक्राउ गर्न थालेका छन् । नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)सँग समेत समन्वय नगर्दा भारतीय प्रहरी धमाधम पक्राउ पर्न थालेका छन् ।

उनले भने, ‘तर, समन्वय नगरेर आउने र मान्छे पक्राउ गर्ने काम गर्दा दुई देशको सुरक्षा निकायको बिचमा विश्वास गुम्छ ।’ २०८१ फागुनमा पञ्जावबाट ७ जना भारतीय प्रहरी काठमाडौँ आएका थिए । अनुमति नलिइकन आरोपित पक्राउ गर्ने उद्देश्यले काठमाडौँ आएका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो । ठमेलस्थित अलफ्ट होटलबाट नियन्त्रणमा लिएर उनीहरूलाई भारतीय राजदूतावासको जिम्मा लगाइएको थियो । प्रहरी स्रोतका अनुसार दूतावासले उनीहरूलाई हवाईमार्ग मार्फत भारत फिर्ता पठाएको छ । एक जना भारतीय आरोपित खोज्दै पञ्जावबाट प्रहरी टोली काठमाडौँ आएको हो । उनीहरूले नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरे पनि डीएसपी निशान्त श्रीवास्तवसँग समन्वय गरेको भेटिएको छ । त्यसबेला लमजुङको इन्चार्ज रहेका श्रीवास्तव भारतीय प्रहरीलाई सहयोग गर्न काठमाडौँमा आएका थिए ।

सो घटना प्रहरी प्रधान कार्यालयलाई जानकारी नगराएको भन्दै श्रीवास्तवलाई लमजुङबाट फिर्ता बोलाएर प्रदेश प्रहरी कार्यालय धनगढीमा पठाइएको छ । प्रहरी प्रधान कार्यालयले सो घटनाबारे छानविन गरिरहेको छ ।प्रहरी अधिकृतहरूका अनुसार भारतमा गएर त्यहाँ घरको सुरक्षामा काम गर्ने नेपालीहरू सुन, हिरा र नगद चोरी गरेर फर्किने घटना पछिल्लो समय बढ्दै छ । घटना बढेपछि प्रहरी प्रधान कार्यालयले त्यसरी चोरेर ल्याएको सामान बरामद भएमा भारतबाट आउने पीडित र प्रहरीसँग ‘समन्वय’ गरेर सामान फिर्ता दिने निर्णय गरेको छ । पश्चिम नेपालबाट भारतमा जानेहरू यस्ता घटनामा संलग्न हुने गरेको भेटिन्छ । भारतमा गएर नेपालीहरूले चोरी गर्ने र फर्किने घटनालाई नेपाल सरकारले फरक ढंगले हेर्नुपर्ने पूर्वडीआईजी मल्ल बताउँछन् । उनले भने, ‘भारतमा धेरै नेपाली बस्छन् । यस्ता घटना नियन्त्रण गर्न नेपालको तर्फबाट पनि प्रयास नगरेमा त्यहाँ बस्ने सबै नेपालीलाई हेर्ने दृष्टिकोण गलत हुन्छ ।’