
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राखेका छन्। आइतबार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव पार्टीको बैठकबाट पारित गर्न प्रस्ताव राखेका हुन्। ‘बितेका ३० वर्षभन्दा लामो समयको संसदबाटै पूर्वन्यायाधीशको संयोजकमा छानविन आयोग बनाउँ। देशले पत्याएको पूर्वन्यायाधीश छानौँ।
निष्पक्ष काम गर्ने मान्छे छानौँ। यस्तो मान्छे छानौँ कि त्यो एमाले, काँग्रेस माओवादी केही पनि नहोस्। र त्यो व्यक्तिलाई २०४६ सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ती छानविन गर्न भनौं,’ उनले भने। ‘बल्ल जेन–जी पुस्ताले हाम्रो कुरा सुन्छ,’ उनले भने। भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जीको भरोसा जित्न नसकिने उनको भनाइ छ। यो नेपाली काँग्रेसका लागि सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने।-न्युज एजेन्सी नेपाल