२०८२ फाल्गुन २३ , शनिवार

नेप्से घट्यो ३२ अंक, कारोबार रकम निरन्तर सुधार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ । साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब १४ करोडको कारोबार भएको हो ।आइतबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचकहरू घटेपछि त्यसको नकारात्मक असर नेप्से परिसूचकमा देखिएको हो । कारोबार सुरु हुँदा २६२८.९१ अंकमा रहेको नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ अंकमा झरेको छ । पछिल्लो समय सेयर बजार सूचक घटे भए पनि कारोबार रकम बढेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घटेको छ । वित्तीय प्रणालीको ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ ।त्यसैले ब्याजदर घटेको अवस्थामा वित्तीय क्षेत्रको पैसा सेयर बजारमा परिचालन हुने गर्छ । त्यसले गर्दा पनि कारोबार रकम बढेको हो ।

त्यसैगरी पछिल्लो समय सेयर बजारमा जाने कर्जाका सन्दर्भमा नेपाल राष्ट्र बैंक पनि लचक भएपछि धितोपत्र बजारमा लगानी बढ्न थालेको हो । सेयर बजारमा कारोबार रकम बढ्नु भनेको सकारात्मक संकेत हो । आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचक बैंकिङ ११.४९, विकास बैंक ४६.८८, फाइनान्स २५.८७, जलविद्युत् १००.९७, माइक्रोफाइनान्स ५४.१६, होटल २१७.४२, अन्य १४.१६, सामूहिक लगानी कोष ०.०७, उत्पादन ७५.०५, व्यापार २९.४७, जीवन बीमा १३५.२३, निर्जीवन बीमा समूह ५८.३४ अंकले घटेका छन् । आइतबारको कुल बजार पूँजीकरण ४३ खर्ब २५ अर्ब पुगेको नेप्सेले जनाएको छ ।