
सुनाखरी न्युज/ काठमाडौं ।
भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामा पाइलटसहित सातजनाको निधन भएको भारतको एनडीटीभीले जनाएको छ ।जागरणका अनुसार उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड र सोनप्रयाग क्षेत्रमा बिहान साढे ५ बजे हेलिकोप्टर खसेको हो । केदारनाथ जान लागेको आर्यन कम्पनीको हेलिकोप्टर दुर्घटनामा बच्चासहित सात जनाको मृत्यु भएको हो ।
केदारनाथ धाममा यात्रुलाई छाडेपछि त्यहाँबाट अन्य यात्रु लिएर फर्किंदा हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा पाइलटको पनि मृत्यु भएको छ ।उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार बिहान ५ः२० मा सो घटना भएको हो । हेलिकोप्टरमा पाँच वयस्क र एक बच्चा र एक पाइलट थिए । ती सबैको मृत्यु भएको समाचारमा जनाइएको छ ।
पीडितहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका भएको बताइएको छ । यो पछिल्ला ६ हप्तामा यस्तै पाँचौँ दुर्घटना भएको बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनामा गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्य तत्काल सुरू गरिएको जानकारी दिएका छन् ।